नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न शुक्रबार बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

यसअघि साउन २० गते ८५ अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले पुनः ३१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। पछिल्लो समय बैंकिङ प्रणालीमा नगद प्रवाह बढेसँगै अतिरिक्त तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले लगातार खुला बजार कारोबारमार्फत पैसा तानिरहेको छ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल (Auction) बाट निर्धारण हुनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भदौ २२ गते भुक्तानी गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म ५ करोड रुपैयाँको गुणनफलमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया