कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती खुमा पौडेलका श्रीमान्को दुःखद् दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकको गढवा शाखाले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकले उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने बैंकको विश्वास छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकले जनाएको छ। साथै, आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउन यस्ता योजनाले महत्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा दिँदै आएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया