उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई थप बजेट नमागी नियमित सञ्चालनमा ल्याउने बताएकी छन्।
हेटौंडामा परीक्षण सञ्चालनमा रहेको उद्योगको स्थलगत अवलोकन गर्दै मन्त्री यादवले औद्योगिक क्षेत्रबाट उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँको भाडा बक्यौता असुल गरी सोही रकम उद्योगको स्तरोन्नति र सञ्चालनमा खर्च गर्ने व्यवस्था मिलाइने बताइन्। हाल उद्योगमा १० वटा लुम सञ्चालनमा रहेर कपडा उत्पादन भइरहेको छ भने थप १० वटा मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नेपाली सेनाले उद्योगका मेसिन तथा उपकरणको अवस्था परीक्षण गरी सम्भव भएसम्म सबै मेसिन सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।मन्त्री यादवले हेटौंडा कपडा उद्योगलाई परीक्षणमा मात्र सीमित नराखी नियमित उत्पादनमा लैजानुपर्ने बताउँदै यसको दिगो सञ्चालनका लागि नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
नेपालकै ठूलो टेक्सटाइल उद्योगका रूपमा हेरिएको हेटौंडा कपडा उद्योगका सम्पूर्ण मेसिन सञ्चालनमा ल्याउन सके देशलाई आवश्यक मात्रामा कपडा उत्पादन गर्न सकिने विश्वास उनले व्यक्त गरिन्।

Online Arthik










