मलेसिया रोजगारीका लागि सीमित वैदेशिक रोजगार व्यवसायीलाई मात्रै सूचीकृत गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) समक्ष आपत्ति जनाएको छ। संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा पदाधिकारी, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको प्रतिनिधिमण्डलले आईएलओका नेपालस्थित कन्ट्री डाइरेक्टरसँग भेट गरी मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थालाई मात्रै आबद्ध गराइएको विषयमा छलफल गरेको हो।

संघले सीमित संस्थालाई मात्रै प्रणालीमा आबद्ध गराउँदा मलेसिया रोजगारीमा एकाधिकार सिर्जना हुने र त्यसको प्रत्यक्ष असर नेपाली श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीमा पर्ने जनाएको छ। यस्तो व्यवस्थाले श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने, व्यवसायीले समान रूपमा व्यवसाय गर्ने अवसर गुमाउने तथा स्वस्थ प्रतिस्पर्धात्मक बजारको सिद्धान्त प्रभावित हुने भन्दै संघले आईएलओसमक्ष गम्भीर सरोकार राखेको हो।

मलेसियाले नेपालबाट श्रमिक लैजाने प्रक्रियामा एफडब्लूसीएमएसमार्फत सीमित म्यानपावरलाई मुख्य श्रमिक भर्ना संस्थाका रूपमा राख्ने व्यवस्था गरेपछि नेपालमा यसको विरोध हुँदै आएको छ। नेपालले पनि विद्यमान कानुनअनुसार मात्रै मलेसिया रोजगारीको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्दै आएको छ। आईएलओका नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओज्कानले यस विषयमा आईएलओ जानकार रहेको र अध्ययन गरिरहेको बताउँदै मुख्यालय जेनेभामा समेत छलफल भइरहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया