रसुवा र नुवाकोटमा आएको बाढीबाट घरबारसँगै परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन गर्न सरकारले तयारी थालेको छ। बाढीका कारण अभिभावक, श्रीमान्–श्रीमती तथा आफन्त गुमाएका कतिपय प्रभावित अहिले होल्डिङ सेन्टर वा आफन्तको आश्रयमा बसिरहेका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले स्थानीय प्रशासन र प्रभावित स्थानीय तहसँग समन्वय गरी सहाराविहीन नागरिकको तथ्यांक संकलन तथा पहिचान गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पूर्ण रूपमा सहाराविहीन प्रमाणित भएका ज्येष्ठ नागरिकलाई पशुपतिस्थित वृद्धाश्रममा व्यवस्थापन गर्ने तयारी गरिएको छ। पशुपति वृद्धाश्रमको क्षमता करिब १०० जनाको रहे पनि हाल ६३ जना ज्येष्ठ नागरिक बस्दै आएका छन्। बाँकी क्षमतामा बाढीबाट प्रभावित सहाराविहीन ज्येष्ठ नागरिकलाई राख्न सकिने मन्त्रालयले जनाएको छ। २०७२ सालको भूकम्पपछि वृद्धाश्रमको भौतिक संरचनामा क्षति पुगेकाले यसको प्रभावकारी क्षमता भने घटेको बताइएको छ।त्यस्तै, बाढीबाट विस्थापित सहाराविहीन महिलालाई बुढानीलकण्ठस्थित समाज कल्याण परिषद्को भवनमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। अपाङ्गता भएका व्यक्तिलाई सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्थासँग समन्वय गरी आश्रय तथा व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ।अभिभावक गुमाएका तथा पूर्ण रूपमा सहाराविहीन बालबालिकालाई ललितपुरको ठेचोस्थित बाल संरक्षण केन्द्रमा राखिने भएको छ। पहिलो चरणमा करिब ५० बालबालिका राख्न सकिने क्षमता रहेको र २० जनाका लागि आवश्यक तयारी पूरा भइसकेको जनाइएको छ।
यसैबीच, ज्येष्ठ नागरिक महासंघले रसुवा र नुवाकोटका विभिन्न स्थानीय तहका ज्येष्ठ नागरिक बाढीबाट प्रभावित भएको जनाएको छ। महासंघका अनुसार बेलकोट, उत्तरगया र कालिका क्षेत्रका ज्येष्ठ नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको छ। कतिपय ज्येष्ठ नागरिक आफन्तकोमा आश्रय लिएर बसेका छन् भने केही काठमाडौं उपत्यकातर्फ आएका छन्। महासंघले प्रभावित ज्येष्ठ नागरिकको अवस्था पहिचान र गणनाको कामसमेत अघि बढाएको जनाएको छ।

Online Arthik










