नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले नागरिकका प्रश्न र आलोचना सुन्दै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्रिपुरेश्वर घटनामा घाइते भएका सवारी चालकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै युवामा बढ्दो निराशा गम्भीर विषय भएको बताइन्। राजनीतिक विश्लेषक भरत दाहालको पक्राउबारे पनि सरकारको ध्यानाकर्षण गराउँदै उनले आरोप लाग्नु र दोष प्रमाणित हुनु फरक विषय भएको बताइन्। सरकारको आलोचना गरेकै आधारमा नागरिक पक्राउ पर्न नहुने उनको भनाइ थियो।
त्यस्तै, बाढीले बगाएको फुर्के खोलाको पुल २८ दिन बित्दा पनि पुनर्निर्माण नभएको भन्दै उनले तत्काल १०० मिटरको बेलिब्रिज निर्माण गर्न माग गरिन्। अन्य क्षतिग्रस्त पुलको पुनर्निर्माण प्रक्रिया पनि तत्काल अघि बढाउन उनले सरकारसँग आग्रह गरेकी छन्।

Online Arthik










