नेपाल राष्ट्र बैंकले असोज ८ गतेदेखि सन् २०२५ सिरिजको नयाँ १ हजार रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको छ। नयाँ नोटको आकार साविककै भए पनि रङमा परिवर्तन गरिएको छ।
नोटको अगाडिको भागमा सगरमाथा, लालीगुराँस, भगवतीको चित्र तथा विभिन्न सुरक्षा विशेषता राखिएका छन्। दृष्टिविहीन व्यक्तिका लागि ‘एम’ संकेत र ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागोसमेत समावेश गरिएको छ। नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै, सात प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँस र ऐतिहासिक थामको आकृति पनि समावेश गरिएको छ।
नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने सिरिज नम्बर वि.सं. २०८२ र २०२५ ए.डी. उल्लेख गरिएको छ। राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Online Arthik










