लगातारको वर्षाका कारण पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्। बिहीबार राति ८ बजेदेखि यात्रुवाहक बस, मालवाहक सवारी, निजी गाडी तथा मोटरसाइकलसमेत सुरक्षा सतर्कताका लागि होल्ड गरिएको हो।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, कुरिनटारनजिकको धारापानीलगायत क्षेत्रमा पहिरो खस्नुका साथै केही स्थानमा सडक भासिएको छ। प्रभावित क्षेत्रमा पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ। धादिङ र चितवन प्रशासनले मौसम तथा सडकको अवस्था सामान्य नहुँदासम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। नागढुंगा–नौबिसे सडकखण्डमा सवारी रोकिँदा यात्रु तथा चालक प्रभावित हुनुका साथै नागढुंगा क्षेत्रमा सवारी चापसमेत बढेको छ।

सम्बन्धित निकायले सडकको अवस्था र पहिरोको जोखिम मूल्यांकन गरेपछि मात्रै सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने जनाएको छ। प्रशासनले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया