अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गमा बाढी तथा पहिरोको जोखिम बढेको छ। काठमाडौं जोड्ने केही सडकखण्ड अवरुद्ध भएका छन् भने केही मार्गमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कान्तिलोकपथअन्तर्गत मकवानपुरतर्फको सडक सञ्चालनमा रहे पनि ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडक र त्रिभुवन राजपथमा हालसम्म पहिरोका कारण अवरोध नरहेको र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।यता पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।वर्षाका कारण थप बाढीपहिरो आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरमा प्रहरी टोली परिचालन गरी सडक तथा जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया