शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) अन्तर्गत बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाएको छ।
एसईएसपीको पहिलो पाँच वर्षको ‘कस्टेड प्रोग्राम’ कार्यान्वयनको चालु आर्थिक वर्ष अन्तिम वर्ष भएकाले आगामी पाँच वर्षका लागि नयाँ कार्यक्रम तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ। यसका लागि शिक्षा सचिव चुडामणि पौडेलको अध्यक्षतामा बिहीबार शिक्षा क्षेत्रका विज्ञ, योजनाविद् तथा मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीबीच छलफल भएको छ। पहिलो चरणमा ‘स्ट्राटेजिक सेक्टर एनालाइसिस’ गरी त्यसपछि कार्यक्रम डिजाइन गर्ने तयारी गरिएको छ।छलफलमा डा. मीनबहादुर विष्ट, डा. कमल पोखरेल, डा. लवदेव अवस्थी लगायत विज्ञ सहभागी थिए। बैठकमा आगामी पाँच वर्षका शिक्षा क्षेत्रका प्राथमिकता, कार्यक्रम र कार्यान्वयन प्रक्रियाबारे छलफल गरिएको थियो।मन्त्रालयले एक महिनाभित्र आगामी पाँचवर्षे योजना निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्न विज्ञहरूलाई कार्यादेश दिएको छ। सचिव पौडेलले नयाँ योजनामा ‘क्रसकटिङ इस्यु’ सहित आवश्यक नयाँ विषय समेट्दै प्रदेश तथा स्थानीय तहको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार नयाँ योजनाले सरकारका प्राथमिकताअनुसार विद्यालय शिक्षाका नयाँ कार्यक्रम तय गर्नेछ। प्रभावकारी रूपमा सञ्चालन भइरहेका कार्यक्रमलाई भने आवश्यकताअनुसार निरन्तरता दिइनेछ।

Online Arthik










