अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। कतारको दोहामा भएको भेटवार्तामा उनले प्राकृतिक विपद्पछिको पुनर्निर्माण, सहुलियतपूर्ण वित्तीय पहुँच, हरित ऊर्जा, विद्युत् प्रसारण, सडक तथा डिजिटल पूर्वाधारमा बैंकको सहयोग बढाउन आग्रह गरेका हुन्।

भेटमा अध्यक्ष जोउले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। परियोजना तयारीका लागि विशेष कोषमार्फत अनुदान उपलब्ध गराउने र त्यसबाट प्राप्त ऋणलाई थप सहुलियतपूर्ण बनाउन सकिने उनले बताइन्।

अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा अघि बढिरहेका विद्युत् वितरण प्रणाली सुधार तथा एक्सप्रेस सडक आयोजनाको अध्ययन शीघ्र पूरा गर्न आग्रह गर्दै अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निम्तोसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया