आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा प्रहरीले यात्रु ठगी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गर्न लागेको जानकारी दिएको हो।
प्रहरीका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद समाधानका लागि यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने प्रस्ताव गरिएको छ। कक्षमा विभिन्न गन्तव्यको भाडादर सार्वजनिक गरिनेछ।
टिकटको कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने, टिकटबिनै यात्रा गराउने तथा एउटै सिटको टिकट दोहोरो बिक्री गर्ने गतिविधिमाथि प्रहरीले विशेष निगरानी गर्ने जनाएको छ। दसैँका बेला बढी चाप हुने कलङ्की–नागढुङ्गा सडकखण्डमा थप जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

Online Arthik










