संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाटको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
आयोजनाको कुल लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ। सहवित्तीयकरणमा प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा तथा मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।
आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। उत्पादित विद्युत् ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनमा जोडिनेछ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण अघि बढाउन आवश्यक स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ।

Online Arthik










