हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका न्यालु र नारा लेकमा बाक्लो हिमपात भएपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ। सडकमा साढे तीन फिटसम्म हिउँ जमेकाले स्थानीयवासीले तत्काल हिउँ पन्छाएर सडक सञ्चालन गर्न माग गरेका छन्।

न्यालु र नारा लेकको सडक अवरुद्ध भएपछि लिमीका स्थानीयलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको छ। बिरामी तथा अन्य आपत्कालीन अवस्थामा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत कठिनाइ भएको छ। यस्तै, हिमपातका कारण सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि दाउरा, खानेपानी र खाद्यान्नको समस्या भएको छ। चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ भने आवश्यक सामग्री पैदलै बोकेर लैजानुपर्ने अवस्था छ।

चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेकाले हिल्सा–सिमकोट सडकसमेत अवरुद्ध भएको छ। सडकमा जमेको हिउँ हटाउन जेसिबी आवश्यक रहेको सुरक्षा निकायले जनाएको छ। स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल हिउँ पन्छाएर लिमी र हिल्साको यातायात सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया