दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। असोज २९ देखि कात्तिक ३० गतेसम्म प्रदेशभर ७ हजार २२९ प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

योजनाअनुसार धनुषामा सबैभन्दा बढी १ हजार ५९९ प्रहरी परिचालन हुनेछन्। पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी खटाइनेछ।

चाडपर्वका बेला सीमा नाकामा हुने तस्करी, धार्मिक तथा पर्यटकीय स्थलमा भीड, सडक दुर्घटना, चोरी–लुटपाट, जुवा–तास, अवैध सट्टेबाजी, आतिसबाजी तथा घरेलु हिंसाजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा २८ हेल्प डेस्क तथा यात्रु सहायता कक्ष, क्यूआरटी, स्ट्राइकिङ टोली, मोबाइल र पैदल गस्तीसमेत परिचालन गरिनेछ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषध ओसारपसार, कालोबजारी र सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने गतिविधिमाथि पनि निगरानी बढाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया