दसैँ–तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला र कुल्लुलगायत सहरमा काम गर्दै आएका नेपाली परिवारसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ। प्रहरीले भारततर्फ जानेभन्दा नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले दैनिक पाँच हजारभन्दा बढी नेपाली सीमा नाकाबाट स्वदेश फर्किरहेका छन्। चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ भने सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ। भारतबाट फर्किने यात्रुलाई ठगी, लुटपाट तथा अन्य समस्या हुन नदिन नेपाल र भारतीय सुरक्षाकर्मीबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षभरि भारतमा रोजगारी गरेर परिवारको खर्च धान्दै आएका नेपालीका लागि दसैँ–तिहार परिवारसँग भेटघाट गर्ने महत्वपूर्ण अवसर बनेको छ। लामो समयपछि घर फर्किएका यात्रुहरूले सीमा नाकाको चेकजाँच तथा व्यवस्थापन विगतको तुलनामा व्यवस्थित बनेको अनुभव सुनाएका छन्। चाडपर्व नजिकिँदै जाँदा जमुनाहा नाकाबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।

Online Arthik










