मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दा समेत भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको हो। कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया