पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या करिब ४०० ले घटेको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरो र त्यसपछिको प्रतिकूल मौसमका कारण पर्यटकको यात्रा प्रभावित हुँदा आगमन घटेको निकुञ्ज प्रशासनले जनाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षको असोजमा ९ हजार ६३३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। गत वर्षको असोजमा भने १० हजारभन्दा बढी पर्यटक आएका थिए। निकुञ्जका सूचना अधिकारी विवेक बाइजूका अनुसार यस वर्ष निकुञ्ज भ्रमण गर्नेमा ७ हजार ६४९ विदेशी, सार्क राष्ट्रका ७३७ र नेपाली १ हजार २४७ पर्यटक छन्।लुक्ला र जोरसल्लेमा रहेका टिकट काउन्टरबाट संकलित विवरणअनुसार गत वर्षको तुलनामा पर्यटक आगमन केही घटेको बाइजूले बताए। उनका अनुसार लुक्लामा मौसम अनुकूल नहुँदा पर्यटकको आवागमन प्रभावित भएको हो। यद्यपि, गत वर्ष र यस वर्षको पर्यटक संख्यामा ठूलो अन्तर नरहेको उनको भनाइ छ।नेपालमा सेप्टेम्बर र अक्टोबरदेखि पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजन सुरु हुन्छ। यस अवधिमा सगरमाथा क्षेत्रसहित विभिन्न पदमार्ग र राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको चहलपहल बढ्ने गर्छ। तर, यस वर्ष बाढीपहिरो, वर्षा र प्रतिकूल मौसमसम्बन्धी पूर्वानुमानले पर्यटकको यात्रा योजना प्रभावित पारेको पर्यटन क्षेत्रका अधिकारीहरूको भनाइ छ।नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मौसमसम्बन्धी पूर्वानुमानका कारण असोजमा केही हिमाली क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको हुन सक्ने बताए। उनका अनुसार प्रतिकूल मौसमको सम्भावना देखिएपछि पर्यटक र सम्बन्धित निकायले सुरक्षालाई प्राथमिकता दिँदै यात्रा योजनामा सतर्कता अपनाउने गरेका छन्।‘मौसमको पूर्वानुमानका कारण पनि पर्यटक आगमनमा केही कमी आएको हुन सक्छ। सुरक्षाका दृष्टिले पनि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था हुन्छ,’ थपलियाले भने। उनका अनुसार मौसमको प्रभाव सबै पदयात्रा क्षेत्रमा समान हुँदैन। एउटा क्षेत्रमा वर्षा तथा प्रतिकूल मौसमका कारण पर्यटक घटे पनि अर्को क्षेत्रमा मौसम अनुकूल हुँदा आगमन बढ्न सक्छ। त्यसैले कुनै एक क्षेत्रको पर्यटक तथ्यांकले समग्र नेपालको पर्यटन आगमनको अवस्था प्रतिनिधित्व नगर्ने उनले बताए।सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले १ हजार ५०० रुपैयाँ र नेपाली पर्यटकले १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।
मुख्य पर्यटकीय सिजनमा पर्यटक आगमन मौसम, पदयात्रा मार्गको सुरक्षा र यात्रासम्बन्धी पूर्वानुमानमा निर्भर रहने भएकाले प्रतिकूल परिस्थितिले पर्यटन व्यवसायमा समेत असर पार्न सक्ने देखिएको छ।

Online Arthik










