सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्क्रिय भएका बीमालेख पुनर्जागरण गराउने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले नियमित रूपमा बीमाशुल्क भुक्तानी गर्न नसकी व्यतित भएका बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उक्त योजना आगामी मंसिर २१ गतेसम्म लागू हुनेछ । योजनाअन्तर्गत दुई वर्षभन्दा कम समयदेखि व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ भने दुई वर्ष नाघेका तर चार वर्ष नपुगेका बीमालेख पुनर्जागरण गर्दा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । कम्पनीले यस्तो छुट बीमाको सम्पूर्ण अवधिमा एक पटक मात्र प्रदान गर्ने जनाएको छ । यद्यपि, छुट सुविधामा पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरेमा यसअघि छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ ।
बीमित तथा उनीहरूका परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनुका साथै निष्क्रिय अवस्थामा रहेका बीमालेख पुनः सञ्चालनमा ल्याउन यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ ।


Online Arthik










