नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकिङ प्रणालीबाट थप २ खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा नगद प्रवाह बढेर अधिक तरलता सिर्जना भएपछि त्यसको व्यवस्थापन गर्न केन्द्रीय बैंकले पुनः निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले यसअघि मंसिर १ गते पनि बजारबाट २ खर्ब रुपैयाँ खिचेको थियो । पुनः २८ दिनका लागि २ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो । छोटो अवधिमै लगातार ठूलो परिमाणमा तरलता प्रशोचन गर्न लागेको राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण गर्ने जनाएको छ । संकलित निक्षेपको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया