अनलाईन आर्थिक,सोलुखुम्बु, ३० जेठ 
जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।


अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मी क्वारेन्टिनमा बसेका थिए । अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना पिसीआर रिपोर्टसमेत नेगेटिभ आएको छ ।

सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो ।

करिब १४ दिनकोे उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टिनमा नै राखिने छ । गत जेठ १५ गते सङ्क्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो । उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया