पेरिस सेन्ट-जर्मेन एफ.सी.(पीएसजी) ले युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता UEFA च्याम्पियन्स लिग फाइनलको उपाधि जितेको छ। बुडापेस्टस्थित पुस्कास एरेनामा भएको रोमाञ्चक फाइनलमा पीएसजीले
आर्सनल एफ.सी. लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिग ट्रफी उचाल्न सफल भयो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। खेलको छैटौं मिनेटमै काई हावर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पीएसजीका कप्तान Marquinhos को असफल क्लियरन्सपछि प्राप्त अवसरलाई हाभर्ट्जले उत्कृष्ट फिनिसिङमार्फत गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा आर्सनलले सशक्त रक्षात्मक प्रदर्शन गर्दै पीएसजीका आक्रमणहरूलाई नियन्त्रणमा राखेको थियो। तर दोस्रो हाफमा क्रिस्टियन मस्केरा ले ख्विचा क्वारत्स्खेलिया माथि पेनाल्टी क्षेत्रमा फउल गरेपछि पीएसजीले बराबरी गर्ने अवसर पायो।
उस्मान डेम्बेलेले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को अवस्थामा ल्याए।
त्यसपछि दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि निर्णायक गोल निस्कन सकेन। अतिरिक्त समयमा आर्सनलले पेनाल्टीको दाबी गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए, जसले खेलमा थप विवाद सिर्जना गरेको थियो।
पेनाल्टी सुटआउटमा एबेरेची एजेले आर्सनलका लागि अवसर गुमाए भने गोलकिपर डेभिड रायले पीएसजीको एक प्रहार बचाउँदै टोलीलाई खेलमा कायम राखेका थिए। तर अन्तिम निर्णायक प्रहारका लागि आएका गेब्रियल म्यागाल्हेसको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएपछि आर्सनलको उपाधि सपना चकनाचुर भयो।
यससँगै पीएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको छ। अर्कोतर्फ, प्रिमियर लिग विजेता आर्सनल भने इतिहासमै पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा पुनः असफल बनेको छ।

Online Arthik










