एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी र महेन्द्रनगरमा विद्यार्थीलाई लक्षित गरी लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले मंसिर ८ गते एनएमबि बैंकको धनगढी चौराहा शाखासँगको सहकार्यमा धनगढीस्थित नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा कार्यक्रम सञ्चालन गरेको थियो। त्यस्तै, मंसिर ९ गते एनएमबि बैंकको महेन्द्रनगर शाखासँगको सहकार्यमा भीमदत्तस्थित बीआईटीओ कलेजमा कार्यक्रम आयोजना गरिएको थियो। दुवै कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एनएमबि क्यापिटलका पोर्टफोलियो अफिसर राहुल खड्का र स्किम सहायक लचना शाक्यले पुँजी बजारका विभिन्न पक्ष, लगानीका अवसर तथा वित्तीय गतिविधिबारे जानकारी गराएका थिए।
कार्यक्रममा विद्यार्थीहरूलाई पुँजी बजार र लगानीसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै उनीहरूका जिज्ञासा तथा प्रश्नहरूको समेत सम्बोधन गरिएको कम्पनीले जनाएको छ।


Online Arthik










