नेपालको पहिलो आधुनिक औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिललाई पुनः सञ्चालन तथा आधुनिकीकरण गर्ने उद्देश्यले रणनीतिक लगानीकर्ता खोज्ने प्रक्रिया अघि बढाइएको छ। विराटनगर जुट मिल्स लिमिटेडले उद्योगको पुनः सञ्चालन, आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र आह्वान गरेको हो।
वि.सं. १९९३ मा स्थापना भएको जुट मिल लामो समयदेखि विभिन्न समस्या र चुनौतीका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। ऐतिहासिक उद्योगलाई पुनर्जीवन दिई मुलुकको औद्योगिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित लगानीकर्ता खोजिएको कम्पनीले जनाएको छ।प्रस्तावित योजनाअनुसार विराटनगर र दमक क्षेत्रमा रहेका ६७ बिघा औद्योगिक जग्गा उपयोग गरी दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य वस्तु उत्पादन गर्न सक्ने उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।जुट उद्योगमा कम्तीमा २० वर्षको सफल अनुभव भएका तथा दैनिक १०० मेट्रिक टन उत्पादन क्षमताको उद्योग स्थापना र व्यवस्थापन गरेको अनुभव भएका लगानीकर्तालाई प्राथमिकता दिइनेछ। साथै, जुटजन्य वस्तुको उत्पादन, प्रशोधन तथा निर्यातमा प्राविधिक र आर्थिक क्षमता भएका औद्योगिक समूहलाई आकर्षित गर्ने कम्पनीको योजना छ।उद्योगबाट जुटको धागो, हेसियन कपडा, बोरा, भू–प्राविधिक सामग्री तथा वातावरणमैत्री प्याकेजिङ सामग्री उत्पादन गरी स्वदेशी बजारसँगै भारत तथा दक्षिण एसियाली बजारमा निर्यात गर्ने सम्भावना औँल्याइएको छ। कृषि उपजको प्याकेजिङमा जुटका बोरा प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीतिले आन्तरिक बजारमा समेत माग बढ्ने अपेक्षा गरिएको छ।नयाँ लगानीकर्तालाई आकर्षित गर्न कम्पनीले विगतका ऋण, वित्तीय दायित्व तथा श्रमिकसम्बन्धी ऐतिहासिक दायित्वबाट अलग राख्ने प्रस्ताव गरेको छ। उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी वा बढीमा ३५ वर्षसम्मको दीर्घकालीन औद्योगिक भाडा सम्झौताको विकल्पसमेत अघि सारिएको छ। संयुक्त लगानी तथा निर्माण, सञ्चालन र हस्तान्तरण विधिबाट पनि उद्योग सञ्चालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार उपलब्ध हुने सुविधासमेत प्राप्त गर्न सक्नेछन्। कम्पनीले मेसिनरी तथा पार्टपुर्जा आयातमा भन्सार सहुलियत, मुनाफा तथा लाभांश विदेश लैजान पाउने सुविधालगायतका प्रावधान उल्लेख गरेको छ।लगानीकर्ताले कम्पनीको विवरण, पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणित कागजातसहित आशयपत्र पेस गर्नुपर्नेछ। प्रारम्भिक छनोटमा परेका लगानीकर्तालाई उद्योगको स्थलगत निरीक्षण तथा आवश्यक कागजात अध्ययन गर्ने अवसर दिइनेछ।
कम्पनीले आशयपत्र पेस भएको ३५ दिनभित्र लगानीकर्ताको छनोट प्रक्रिया अघि बढाउने र छनोट भएका लगानीकर्तासँग एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने लक्ष्य राखेको छ। इच्छुक लगानीकर्ताले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार वा विराटनगर जुट मिल्स लिमिटेड, विराटनगर–१५ मा आशयपत्र बुझाउन सक्नेछन्।


Online Arthik










