मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आगामी पुस २ गते आयोजना गर्ने भएको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको २७७औँ बैठकले सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कुल ८ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव पेस हुनेछ। बैंकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्तापुँजी १ अर्ब १९ करोड ५१ लाख रुपैयाँ रहेको छ। यसअनुसार बैंकले करिब ५ करोड ९८ लाख रुपैयाँबराबरको बोनस सेयर र ३ करोड ५९ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत छलफल गरी निर्णय गरिने बैंकले जनाएको छ।


Online Arthik










