ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकेर सेयर बिक्रीका लागि निवेदन दिएको हो। यसअनुसार बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य एक अर्ब १६ करोड ९२ लाख ८० हजार रुपैयाँ हुनेछ।
सेयर खरिदका लागि पहिलो प्राथमिकता रिलायबल नेपाल लाइफका विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ। इच्छुक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र रकम खुलाएर निवेदन दिनुपर्नेछ। प्रचलित व्यवस्थाअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो अवसर विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने हुन्छ। उनीहरूले सेयर खरिद नगरेको अवस्थामा मात्रै अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने व्यवस्था छ।
ग्लोबल आइएमई बैंक रिलायबल नेपाल लाइफको सबैभन्दा ठूलो सेयरधनी हो। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार बैंकको कम्पनीमा १० प्रतिशत अर्थात् ५१ लाख ९६ हजार ८०० कित्ता सेयर स्वामित्व रहेको छ।


Online Arthik










