नेपालकै पहिलो केबलकार मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते आफ्नो २८औँ वार्षिकोत्सव मनाएको हो। कम्पनीका अनुसार हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकार सेवा लिइसकेका छन्।

समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले यात्रु, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्दै सेवा विस्तार तथा गुणस्तर सुधारमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

तपाईको प्रतिक्रिया