फिनल्यान्ड र इस्टोनियाको समुद्री सीमाक्षेत्र नजिकै रुसी मालवाहक जहाज ‘स्पार्टा–२’ माथि ड्रोन आक्रमण भएको छ। शनिबार बिहान पूर्वी फिनल्यान्डको खाडीमा भएको आक्रमणपछि क्षतिग्रस्त जहाज नियन्त्रणबाहिर गएर फिनल्यान्डको जलक्षेत्रतर्फ बगेको थियो। जहाजलाई डुब्नबाट जोगाउन उद्धार तथा अग्निनियन्त्रण कार्य जारी छ।
रुसको कालिनिनग्रादतर्फ जाँदै गरेको जहाजमाथि दुईवटा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक जानकारी छ। फिनल्यान्डको रक्षा बलले आक्रमणमा युक्रेनको संलग्नता हुन सक्ने आशङ्का गरे पनि युक्रेनले आधिकारिक प्रतिक्रिया दिएको छैन। आक्रमणपछि जहाजका चालकदललाई अर्को रुसी जहाजमा सुरक्षित स्थानान्तरण गरिएको छ। फिनल्यान्डका अधिकारीहरूका अनुसार घटनास्थलमा तेल चुहावट वा वातावरणीय क्षति देखिएको छैन। घटनाबारे फिनल्यान्डले अनुसन्धान गरिरहेको छ भने नेटोलाई समेत जानकारी गराइएको छ।
अमेरिका र युक्रेनको प्रतिबन्ध सूचीमा रहेको स्पार्टा–२ रुसी सैन्य तथा निर्माण संरचनासँग सम्बन्धित कम्पनीमार्फत सञ्चालन हुँदै आएको बताइएको छ। फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले घटनाले रुस–युक्रेन युद्धको प्रभाव आफ्नो देशको आसपाससम्म फैलिएको सङ्केत गरेको बताएका छन्। पछिल्लो घटनाले बाल्टिक सागर क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको छ।


Online Arthik









