नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सोमबारदेखि प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएको छ। नेपाल र भारतका दुई ऐतिहासिक तथा धार्मिक सहरलाई रेलमार्गबाट जोड्ने उद्देश्यले सुरु गरिएको विशेष रेल सेवाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सेवा उद्घाटन गरेसँगै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रेललाई अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय रेलका उच्च अधिकारीहरूले बिदाइ गर्नेछन्।
नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि रामायणकालीन सभ्यतासँग जोडिएका यी दुई धार्मिक सहरको भ्रमण गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवागमन सहज हुने विश्वास गरिएको छ।


Online Arthik









