कुमारी बैंक लिमिटेडले १६ हजार ८३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकले जारी गरेको ३५ दिने सूचनाअनुसार उक्त शेयर खरिदमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। शेयर खरिद गर्न चाहनेले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालस्थित नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुनेछ।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


Online Arthik










