अमेरिकी सेयर बजारमा देखिएको सकारात्मक संकेतपछि बिहीबार एसियाली सेयर बजारमा उत्साह देखिएको छ । जापानको निक्केई सूचकांक १.६ प्रतिशत र दक्षिण कोरियाको बजार १.९ प्रतिशतले उकालो लागेको छ । तर, एआई क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफल र अमेरिकी व्यापार नीतिबारे अनिश्चितताले विश्व बजारमा जोखिमको चिन्ता कायमै छ ।

प्रविधि क्षेत्रको अग्रणी कम्पनी एनभिडियामाथि समेत लगानीकर्ताको दबाब बढेको छ । कम्पनीको व्यवस्थापन र सञ्चालक समितिको निगरानी प्रणालीबारे प्रश्न उठाउँदै एस एन्ड पीले यसको ऋण मूल्याङ्कन घट्न सक्ने सम्भावनासहित समीक्षा थालेको छ । बुधबार एनभिडियाको सेयर मूल्य ३.९ प्रतिशतले घटेर १४९.३० डलरमा सीमित भएको थियो । अक्टोबरमा कायम २४३.३७ डलरको उच्च मूल्ययता कम्पनीको बजार पुँजीकरण २.३ ट्रिलियन डलरले घटेको छ । अमेरिकी अर्थतन्त्रले तेस्रो त्रैमासिकमा ४.३ प्रतिशतको वृद्धि हासिल गरेको संशोधित तथ्यांकले देखाए पनि सरकारी बन्डको प्रतिफलमा गिरावट आएको छ । १० वर्षे ट्रेजरी बन्डको प्रतिफल ४.८४८ प्रतिशतमा झरेको छ, जुन ११ सातायताकै न्यून हो । यसैबीच, फेडरल रिजर्भले डिसेम्बरमा ब्याजदर २५ आधार बिन्दुले बढाउने बजारको अनुमान ९८ प्रतिशत पुगेको छ ।अमेरिकाले चीन, जापान र युरोपेली संघलगायत १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेपछि अन्तर्राष्ट्रिय व्यापार र मुद्रास्फीतिबारे चिन्ता थपिएको छ । प्रस्ताव कार्यान्वयन भए आगामी वर्ष वस्तुको मूल्यमा थप दबाब पर्न सक्ने अर्थशास्त्रीहरूको आकलन छ ।मुद्रा बजारमा अमेरिकी डलर सूचकांक घटेर १०३.७१ मा पुगेको छ । युरोको मूल्य बढेर १.०९७३ डलर कायम हुँदा जापानी येनसँग डलर १५९.१४ मा स्थिर देखिएको छ ।

अर्कोतर्फ, मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाएको छ । ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल ९४.८१ डलर र अमेरिकी कच्चा तेल ८४.२४ डलर पुगेको छ । तेलको मूल्य बढिरहँदा सुन भने ०.४ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ५६६ डलरमा झरेको छ । नोभेम्बर महिनामा सुनको मूल्यमा झन्डै ८ प्रतिशतको गिरावट आइसकेको छ ।

तपाईको प्रतिक्रिया