किस्ट शिक्षण अस्पताल मा क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिइएको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेल ले गरिरहनुभएको छ। अस्पतालमा क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ लगायतको टोलीमार्फत टाउकोदेखि खुट्टासम्मका सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा प्रदान हुँदै आएको छ।

यसै क्रममा मेदान्ता गुरुग्राम-द मेडिसिटि सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत उपलब्ध गराइएको छ, जसले नेपाली बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा पहुँचयोग्य बनाएको छ। भारतका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा. सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी भई दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सम्पन्न गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा विभिन्न अस्पतालका विशेषज्ञहरूको सहभागितासहित क्यान्सर उपचारका नवीनतम प्रविधि र बहुविषयगत व्यवस्थापनबारे गहन छलफल गरिएको थियो। अस्पतालले भविष्यमा पनि अन्तर्राष्ट्रिय सहकार्य र आधुनिक उपचार प्रणालीमार्फत नेपालमै गुणस्तरीय क्यान्सर सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया