सहकारी संस्थाहरूमा कर्जाको ब्याजदर घट्ने भएको छ । सहकारी विभागले सहकारी संस्थामा लागु भएको सन्दर्भ ब्याजदरमा पुनरावलोकन गरेसँगै कात्तिक १५ गतेबाट सहकारी संस्थाहरूमा कर्जाको ब्याजदर घट्ने भएको हो ।

हाल अधिकतम १६ प्रतिशत कायम रहेको सन्दर्भ ब्याजदर आगामी कात्तिक २५ गतेबाट १४.७५ प्रतिशत कायम हुनुपर्ने निर्णय भएको छ । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको भदौ ५ गते सोमबार बसेको बैठकले कात्तिक १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो ।

२०७६ साउन १९ गतेदेखि सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर लागु भएको थियो । त्यतिबेला सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सहकारी संस्थाहरूले कर्जामा अधिकतम १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको थियो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत संघहरूबाट प्रतिनिधि र सहकारी विभागका उप-रजिस्ट्रार सदस्य-सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो । सोही सिफरिस समितिकै सिफारिसअनुसार कर्जाको ब्याजर घटाउने निर्णय भएको हो ।

कर्जाको ब्याजदर घटेसँगै सहकारीमा निक्षेपको ब्याजदर पनि घट्ने भएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले निक्षेप र कर्जाको ब्याजदरको अन्तर अधिकतम ६ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । कर्जाको ब्याजदर १६ प्रतिशत हुँदा रहकारी संस्थाहरूले निक्षेपकर्तालाई बचतमा न्यूनतम १० प्रतिशत ब्याजदर दिनुपर्ने हुन्थ्यो । तर कर्जाको ब्याजदर १४.७५ प्रतिशतमा झरेसँगै अब बचतको ब्याजदर पनि न्यूनतम ८.७५ प्रतिशत सम्म झार्न सक्ने भएका छन् । समितिले कर्जा र बीचको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा कम हुनपर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया