लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २२ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा २२.२८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढेपछि खुद नाफा घटेको हो। पहिलो त्रैमासमा बैंकले ७६ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १० करोड रुपैयाँ कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८६ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
त्यस्तै, बैंकको अन्य सञ्चालन आम्दानी पनि ५ करोड ५८ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४४ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्ष यस्तो नाफा ५८ करोड ९६ लाख थियो ।
बैंकको इम्पेरिमेन्ट चार्ज बढेपछि सञ्चालन नाफामा कमि आएको हो। यसले खुद नाफामा पनि असर पारेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ६९ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज रहेको बैंकको चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप संकलन ९८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८८ अर्ब ४५ करोड रुपैयाँबाट घटेर ८७ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा बैंकको व्यवसायमा नै संकुचन आएको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ। बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ।
हाल ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष २ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ३ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको छ।
विवरण अनुसार हाल बैंकको पूँजीकोष अनुपात १३.२४ प्रतिशत रहेको छ भने कोषको लागत ५.७१ प्रतिशत, आधार दर ८.०९ प्रतिशत, सिसिडि रेशियो ७१.८७ प्रतिशत र स्प्रेड दर ४.३८ प्रतिशत रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसाबाट घटेर १२ रुपैयाँ ७३ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात १९.९५ गुणा रहेको छ।

Online Arthik










