सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।

असार मसान्तसम्ममा लघुवित्तले ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.५६ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८०.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४५८.०८ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा २.५६ प्रतिशतबाट घटेर १.७५ प्रतिशतमा सीमित हुँदा सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेको छ भने जगेडा कोष ४५८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ९५.६६ प्रतिशत, निक्षेप ५४.२३ प्रतिशत र कर्जा ९३.५८ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ९२ पैसा बढेर २७ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया