ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले मंसिर २८ गते, मंगलबार, होटल पोखरा ग्राण्ड, पार्दीमा नवौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रमा थप गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको बारेमा विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते एक दिन बुकक्लोज गर्नेछ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ। २८ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ।

Online Arthik










