काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आजबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा शेयर निष्काशन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता प्रतिशेयर रु २३९ का दरले सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयरमा लगानीकर्ताहरुले आजदेखि भाद्र ०४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १४ गतेसम्म लम्बिनेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआईमर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया