काठमाडौं महानगरपालिकाले सर्वसाधारणको पहुँच र प्रयोग सहज बनाउन सैनिक मञ्चको दक्षिणतर्फको भागमा वरमुढा ग्रास रोप्ने भएको छ। हाल युवा तथा बालबालिकाको खेलस्थल र ज्येष्ठ नागरिकको आराम तथा घाम ताप्ने स्थानका रूपमा प्रयोग हुँदै आएको यो क्षेत्रमा धुलो र हिलोको समस्या समाधान गर्न ग्रास रोप्ने निर्णय गरिएको हो।

६१ हजार २६३ वर्गमिटर क्षेत्रफलको चउरमा करिब २ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने समय दिइएको छ।वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार जमिन सम्याएर ३ इञ्च मलिलो माटो राखी घाँस रोपिनेछ। साथै, वर्षा पानी संकलनका लागि ६ मिटर गहिराइ र १.२ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट निर्माण गरिनेछ।

महानगरले यस योजनाबाट खुला स्थानमा सर्वसाधारणको पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सौन्दर्य अभिवृद्धि हुने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया