सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
खुद ब्याज आम्दानीमा सुधार देखिए पनि सञ्चालन खर्च, कर्मचारी खर्च, परिशोधन तथा ह्रास खर्चमा वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारण बैंकको खुद नाफा भने घटेको छ।समीक्षा अवधिसम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशतले कम हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यस अवधिमा बैंकले कस्ट अफ फण्ड घटाउन सफल भएको छ। अघिल्लो आवमा ५.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ३.७८ प्रतिशतमा सीमित बनेको छ। बैंकले वित्तीय स्थिरता र जोखिम व्यवस्थापनमा ध्यान दिएको देखिन्छ। बैंकको पूँजी प्रयाप्तता अनुपात १२.४८ प्रतिशत कायम रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम मापदण्डभन्दा बढी हो।
दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब रुपैयाँ र कर्जा प्रवाह १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।अन्य वित्तीय सूचकतर्फ हेर्दा, समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ४.६३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४९.७९ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ५८४ रुपैयाँ र तरलता अनुपात २६.४३ प्रतिशत कायम रहेको छ।

Online Arthik









