एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५३ प्रतिशतले कम हो। अघिल्लो आवको दोस्रो त्रैमासमा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ। अघिल्लो वर्ष ५ अर्ब १८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ। यद्यपि, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ। चालु आवको दोस्रो त्रैमासमा बैंकले ७० करोड २१ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष ६३ करोड २१ लाख रुपैयाँ थियो।
बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने खराब कर्जा अनुपात ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन ३ खर्ब १९ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। तर कर्जा विस्तार अपेक्षित रूपमा हुन नसक्दा कर्जा प्रवाह २ खर्ब २४ अर्ब रुपैयाँबाट घटेर २ खर्ब ९ अर्ब रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकांकतर्फ बैंकको प्रतिसेयर आम्दानी (EPS) १.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८८.४४ गुणा तथा तरलता अनुपात ४२.६४ प्रतिशत कायम भएको छ।

Online Arthik









