हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा उल्लेखनीय वृद्धि भएको छ। संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.६६ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा संस्थाको खुद नाफा २ करोड ६० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले वृद्धि भई १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने घट्दै २ करोड १ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो आवको २ करोड ९६ लाख रुपैयाँको तुलनामा कम हो।
यस अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यो आम्दानी १७ करोड ४० लाख रुपैयाँ मात्र थियो। यस्तै, सम्भावित जोखिम व्यवस्थापनका लागि संस्थाले इम्पेयरमेन्ट चार्ज शीर्षकमा २ करोड १९ लाख रुपैयाँ छुट्टाएको छ।
अघिल्लो आवमा ३ करोड ८६ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर ३ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ। भने, रिजर्भको आकार १२ करोड ३९ लाख रुपैयाँबाट बढेर १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख रुपैयाँ छुट्टाएको छ।
सञ्चालनतर्फ हेर्दा, संस्थाले ग्राहकहरूबाट १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा संस्थाको खराब कर्जा अनुपात ५.६२ प्रतिशतबाट बढेर ८.५८ प्रतिशत पुगेको छ।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १६.१४ प्रतिशत कायम भएको छ। वित्तीय सूचकांकअनुसार संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.८५ गुणा, प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६५.६६ रुपैयाँ र तरलता अनुपात १७.७४ गुणा रहेको छ।

Online Arthik










