एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
उक्त साधारण सभा फागुन ११ गते बाराको सिमरामा अवस्थित होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन समेत समेटिएको ५.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ। त्यसैगरी, बोनस सेयर वितरणपश्चातको हदसम्म कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत सभामा पारित गरिनेछ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरू पारित गरिनेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik










