अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१५ प्रतिशतले बढी हो।
अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनु र वित्तीय खर्चमा आएको कमीले नाफा वृद्धिमा मुख्य योगदान पुर्याएको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी बढेर ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो। आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले आम्दानीमा सुधार आएको हो।यद्यपि, सञ्चालन खर्चतर्फ केही वृद्धि देखिएको छ। प्रशासनिक खर्च, कर्मचारी खर्च तथा कर्मचारी बोनस खर्च अघिल्लो वर्षको तुलनामा बढेका छन्। तर, वित्तीय खर्च भने उल्लेख्य रूपमा घटेर १५ करोड ६० लाख रुपैयाँबाट ११ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जसले समग्र नाफालाई सकारात्मक बनाएको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ दीर्घकालीन कर्जा र २० करोड ७४ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ। यस अवधिसम्म कुल चालु सम्पत्ति ४० करोड ७९ लाख रुपैयाँ र चालु दायित्व २४ करोड ४८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १४.३४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११८.१२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३२.०८ गुणा तथा तरलता अनुपात १.६७ गुणा कायम रहेको छ।

Online Arthik










