काठमाण्डौ नक्साल स्थित आम्रपाली बैंक्वेटमा बुधबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा भएको छ। सभाले संचालक समितिको आ.व. २०८१/८२ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१/८२ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतीले स्वीकृत गरेको छ।

यस्तै सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र संचालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ।

कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तब्य र संचालक आशिष ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताउनु भयो।

तपाईको प्रतिक्रिया