साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो। गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आवको पुस मसान्तसम्म कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि उल्लेख्य रूपमा बढेर २२ करोड २५ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष पुस मसान्तसम्म यस्तो आम्दानी २ करोड ५७ लाख रुपैयाँ मात्रै थियो।
यद्यपि, चालु आवको पहिलो ६ महिनामा कम्पनीको कुल नाफा भने घटेको छ। कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ५५ करोड १८ लाख रुपैयाँभन्दा कम हो।
दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ थियो। यस अवधिमा कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ र ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ।
३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ रहेको छ।

Online Arthik










