पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्म ५४ हजार ७ सय ८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार दर्ता भएका विवरणहरू प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। इजरायल–अमेरिका र इरानबीच बढेको युद्धका कारण पश्चिम एसियाली देशहरूमा तनाव बढेको छ। इरानमाथि इजरायल–अमेरिकाले मिसाइल आक्रमण गरेपछि इरानले अमेरिकी सैन्य बेस रहेका पश्चिम एसियाली देशहरूमा आक्रमण गर्दै आएको बताइएको छ। यसका कारण ती देशहरूमा रहेका १७ लाख २९ हजारभन्दा बढी नेपालीको सुरक्षाप्रति चिन्ता बढिरहेको छ।
परराष्ट्र मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परेको खण्डमा उद्धारको व्यवस्था मिलाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। पश्चिम एसियाली देशहरूमा रहेका नेपालीको सुरक्षा, हित तथा कल्याणका लागि त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको मन्त्रालयले जनाएको छ। समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि नियोगहरूले समन्वय गरिरहेका छन्। नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेको र राहदानी लगायत अत्यावश्यक सेवाका लागि फोन वा इमेलमार्फत समय मिलाएर नियोगमा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।
मन्त्रालयले हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनी, निकाय तथा नियोगहरूको सूचना हेर्न पनि आग्रह गरेको छ। पश्चिम एसिया क्षेत्रका धेरै मुलुकका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी दैनिक रूपमा अद्यावधिक गरिरहेका छन्। स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गर्ने सूचना, सावधानीका उपाय तथा समाचारबारे जानकारी राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ। साथै विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन तथा कानून विपरीत हुने फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड वा आदान–प्रदान नगर्न त्यहाँ रहेका सबै नेपालीलाई विशेष अनुरोध गरिएको छ।
पश्चिम एसियाका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्समा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडान सञ्चालनमा रहेको तथा दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ। साउदी अरेबिया र ओमानतर्फ पनि हवाई सेवा पुनः सञ्चालनमा आइसकेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट यात्रा गर्न सक्ने बताइएको छ। कुनै समस्या आइपरेमा मन्त्रालयको इमरजेन्सी एक्सन रूमका टेलिफोन नम्बर, इमेल वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत तुरुन्त सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

Online Arthik










