कालिन्चोक हाइड्रोपावर लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले चैत १२ गतेसम्म आवेदन दिने म्याद थप गरे पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि निष्कासन बन्द गरिने जनाएको छ।कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।सेयर खरिदका लागि दोलखा जिल्ला अन्तर्गत बिगु गाउँपालिका वडा नम्बर ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को सिङगटी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै कालिन्चोक हाइड्रोपावर लिमिटेड को कार्यालय, बिगु गाउँपालिका–८ बाट पनि आवेदन दिन सकिनेछ।
आवेदकले सेयर खरिद दरखास्त फाराम लिन २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

Online Arthik










