टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २७ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका लागि र ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ आज बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीबाट मागभन्दा बढी आवेदन परिसकेकाले पूर्वनिर्धारित समयअनुसार आज निष्कासन बन्द गर्न लागिएको कम्पनीले जानकारी दिएको छ। यद्यपि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर को वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

Online Arthik










