प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव अघि बढाएको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत १९ गते विशेष साधारण सभा आह्वान गरेको जनाएको छ।
कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंस्थित Amrapali Banquet मा बिहान ९ बजे बस्नेछ। उक्त सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ। नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट वा भाषिक संशोधनका लागि सुझाव वा निर्देशन प्राप्त भएमा सोहीअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने एजेण्डा समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले प्रस्तावित सेयर संरचना परिवर्तनमार्फत सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउने र कम्पनीको पूँजी संरचना थप सुदृढ बनाउने लक्ष्य लिएको बताएको छ।

Online Arthik










