नेपाल अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ(एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडी समावेश गर्दा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गरेको छ।
बिहीबार सार्वजनिक विज्ञप्तिअनुसार एन्फाबाट सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडीहरूलाई समेत खेलाएको भन्ने उजुरी विभागमा प्राप्त भएको जनाएको छ। विभागले स्पष्ट रूपमा भनेको छ कि कुनै पनि विदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गराउनुअघि नियमानुसार कार्य सहमति र श्रम स्वीकृति अनिवार्य रूपमा लिनुपर्छ।
यस विषयमा आजैदेखि अनुगमन सुरु गरिएको विभागले जनाएको छ। स्वीकृति नलिई पर्यटक भिसामा आएका खेलाडीहरूलाई खेलमा सहभागी गराएको पाइएमा भिसाको उद्देश्य विपरीत कार्य गरेको ठहर गर्दै तत्काल कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।

Online Arthik









